हवाई भाडा वृद्धिप्रति रमेश प्रसाईंको आक्रोश, पर्यटनमन्त्रीलाई भने– ‘रमिते नबन्नू’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद प्रसाईंले चाडपर्वको समयमा एयरलाइन्स कम्पनीहरूले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको आरोप लगाए। उनले चाडपर्वका बेला हवाई भाडा बढाउने प्रवृत्तिले सर्वसाधारण यात्रु मारमा परेको बताए।

प्रसाईंले धनगढीको हवाई टिकटको मूल्य १६ अक्टोबरदेखि १६ हजार रुपैयाँसम्म पुगेको र झापाको भद्रपुरको टिकट १२ हजार रुपैयाँसम्म पुगेको दाबी गरे।

‘हरेक दसैँ–तिहारमा मनपरी भाडा, मौकामा चौका। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका,’ उनले भने।

उनले हवाई टिकटमा कालोबजारी भइरहेको आरोप लगाउँदै त्यसलाई नियन्त्रण गर्न पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए। साथै, चाडपर्वको समयमा यात्रुले भोग्नुपरेको समस्यामा पर्यटनमन्त्री रमिते बनेर बस्न नहुने भन्दै तत्काल हस्तक्षेप गर्न आग्रह गरे।

प्रसाईंले हवाई भाडा निर्धारण र टिकट बिक्री प्रक्रियाको अनुगमन गरी यात्रुमाथि हुने भनिएको मनपरी असुली नियन्त्रण गर्न सरकारसँग माग गरे।