काठमाडौँ । गायक खेम सेन्चुरी र हिन्दूवादी अभियन्ताहरूबीच उनको गीतलाई लिएर उठेको विवादमा सहमति जुटेको छ। सेन्चुरीले विवादित विषयवस्तु हटाएर गीत सम्पादन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।
सेन्चुरीको रचना, संगीत र स्वर रहेको ‘बाहुनबाजे’ बोलको गीतविरुद्ध हिन्दूवादी अभियन्ताहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए। उजुरीपछि ब्यूरोले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। पहिलो दिनको छलफल निष्कर्षमा पुग्न नसकेपछि मंगलबार पुनः छलफल गरिएको थियो।
मंगलबारको छलफलपछि दुवै पक्षबीच सहमति भएको हो। सहमतिपत्रमा सेन्चुरीले गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने शब्द हटाउने उल्लेख छ।
त्यस्तै, पूजाका क्रममा ब्राह्मणले खाएको भागलाई भिडियोमा ब्लर गर्ने र गीतको शीर्षकसमेत परिवर्तन गर्ने सहमति भएको छ।
गोधुली क्रियसन प्रालिले उत्पादन गरेको ‘बाहुन बाजे किन कासेको…’ बोलको गीत करिब एक महिनाअघि युट्युबमा सार्वजनिक भएको थियो। गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरले स्वर दिएका छन् भने रचना तथा संगीत सेन्चुरीकै रहेको छ।
गीत र भिडियोले बाहुन समुदायलाई होच्याएको भन्दै हिन्दूवादी अभियन्ताहरूले साइबर ब्यूरोमा उजुरी दिएका थिए। उनीहरूले गीतले सनातन हिन्दू समुदायबीचको एकता र सद्भावमा असर पार्न खोजेको आरोप लगाएका थिए।
विशेषगरी ‘बंगुरको मासु’ उल्लेख गरिएको पङ्क्तिप्रति उनीहरूको मुख्य आपत्ति थियो। दुई दिनसम्म साइबर ब्यूरोमा भएको छलफलपछि विवादित विषयवस्तु हटाउने तथा भिडियो र शीर्षकमा समेत आवश्यक सम्पादन गर्ने सहमति जुटेको हो।

















प्रतिक्रिया