प्रधानमन्त्रीले भने– प्राविधिक सांसदको ज्ञान र सीप देश विकासमा उपयोग गर्नुहोस्


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा रहेका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले प्राविधिक विषयमा विज्ञता भएका सांसदहरू नीति निर्माण गर्ने स्थानमा रहेकाले आफ्नो दक्षतालाई देश विकासमा अधिकतम उपयोग गर्नुपर्ने बताए।

‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ उनले भने।

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए।

निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

उनले प्राविधिक ज्ञान र अनुभव भएका सांसदहरूको दक्षतालाई दीर्घकालीन नीति निर्माण तथा विकासका काममा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।