इजरायल । दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि चक्कु प्रहार भएपछि विमान अचानक तीव्र गतिमा तल झर्न थाल्यो। त्यसपछि ककपिटमा पुगेका यात्रु यानिभ हायुनले कथित आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्नुका साथै विमानको नियन्त्रण पुनःस्थापित गर्न पनि भूमिका खेले।
तर औपचारिक रूपमा विमान उडाउने तालिम नलिएका हायुनलाई विमानको नियन्त्रणबारे कसरी थाहा भयो भन्ने प्रश्न उठेको थियो। इजरायल फर्किएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हायुनलाई भेटेर यही विषयमा जिज्ञासा राखेका थिए।
नेतन्याहुको कार्यालयले सार्वजनिक गरेको भिडियोमा हायुनले आफूले विमान चलाउने औपचारिक प्रशिक्षण नलिएको स्पष्ट पार्दै भनेका छन्, ‘म एयर क्र्यास इन्भेस्टिगेसन हेर्छु, प्रधानमन्त्रीज्यू।’ विमान दुर्घटनासम्बन्धी अनुसन्धान तथा घटनाका भिडियोहरू हेर्ने गरेको उनको भनाइ थियो।
ककपिटभित्र पुगेपछि देखियो यस्तो दृश्य
विमान तीव्र गतिमा तल झर्न थालेपछि हायुनसहित केही यात्रुले ककपिटतर्फ जाने प्रयास गरेका थिए। घाइते पाइलट ककपिटको ढोकामा ढलेका कारण सुरुमा ढोका खोल्न कठिन भएको हायुनले बताएका छन्।
पछि घाइते पाइलटले ढोका खोल्न सफल भएपछि यात्रुहरू ककपिटभित्र प्रवेश गरेका थिए। त्यहाँ उनीहरूले दुवै पाइलट आफ्नो सिटमा नरहेको देखेका थिए।
हायुनका अनुसार एक पाइलट भुइँमा थिए भने अर्का व्यक्ति ककपिटको नियन्त्रण प्यानलनजिक थिए। कथित आक्रमणकारीलाई उनले पछाडिबाट समातेपछि अन्य यात्रुले समेत सहयोग गरेर उनलाई नियन्त्रणमा लिएका थिए।
‘मैले विमान चलाउन सिकेको होइन’
प्रधानमन्त्री नेतन्याहुले विमानको नियन्त्रणबारे जानकारी कसरी भयो भनेर सोध्दा हायुनले आफूले ‘एयर क्र्यास इन्भेस्टिगेसन’ हेर्ने गरेको बताएका थिए। यस्ता सामग्री हेर्दा आपत्कालीन अवस्थामा विमानका केही नियन्त्रणबारे सामान्य जानकारी प्राप्त भएको हुन सक्ने उनको भनाइबाट देखिन्छ। उनी भने व्यावसायिक पाइलट होइनन्।
हायुनले घटनाका क्रममा सबै कुरा केही सेकेन्डमै भएको बताएका छन्। विमानको अगाडिको भाग तलतिर झरिरहेको देखेपछि आफूले तत्काल प्रतिक्रिया दिएको उनले बताए। त्यसपछि विमानलाई पुनः सन्तुलित अवस्थामा ल्याउन सहयोग गरेको र बाँकी नियन्त्रण चालक दलका सदस्यले सम्हालेको उनको भनाइ छ।
एक मिनेटमै गुमाएको थियो हजारौँ फिट उचाइ
फ्लाईदुबईको एफजेड १०७३ उडान बुधबार दुबईबाट तेलअभिभका लागि उडेको थियो। विमानमा चालक दलसहित १७४ जना सवार थिए।
उडानका क्रममा पाइलटमाथि आक्रमण भएपछि विमानले छोटो अवधिमै ठूलो उचाइ गुमाएको थियो। उडान अनुगमनसम्बन्धी विवरणअनुसार विमानले करिब एक मिनेटमै हजारौँ फिट उचाइ गुमाएको थियो।
घटनापछि यात्रु र चालक दलका सदस्यको संयुक्त प्रयासमा आक्रमणकारीलाई नियन्त्रणमा लिइएको थियो भने विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको थियो।






















प्रतिक्रिया