नेपाली रुपैयाँको आफ्नै ‘मुद्रा चिह्न’ बनाउन रास्वपा महामन्त्री आचार्यको प्रस्ताव


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिन आचार्यले नेपाली रुपैयाँका लागि छुट्टै आधिकारिक ‘मुद्रा चिह्न’ निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले विश्वका प्रमुख मुद्राहरूको आफ्नै आधिकारिक चिह्न भएजस्तै नेपाली रुपैयाँको पनि विशिष्ट र अन्तर्राष्ट्रिय रूपमा प्रयोग गर्न मिल्ने मुद्रा चिह्न आवश्यक भइसकेको बताए ।

उनले अहिले नेपाली रुपैयाँलाई ‘रु.’ वा ‘NPR’ जस्ता संक्षिप्त रूपबाट चिनाउने गरिएको उल्लेख गर्दै डिजिटल अर्थतन्त्र र फिनटेकको बढ्दो प्रयोगका बीच नेपाली मुद्राको आफ्नै विशिष्ट पहिचान आवश्यक रहेको बताए ।

आचार्यका अनुसार नयाँ मुद्रा चिह्नमा देवनागरी लिपिको मौलिकता र नेपालको राष्ट्रिय पहिचान झल्किनुपर्नेछ । यसले नेपाली रुपैयाँलाई डिजिटल तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा समेत छुट्टै पहिचान दिन सहयोग पुग्ने उनको भनाइ छ ।

उनले खुला प्रतिस्पर्धामार्फत उत्कृष्ट डिजाइन छनोट गरी नेपाली रुपैयाँका लागि आधुनिक, मौलिक र आधिकारिक मुद्रा चिह्न निर्धारण गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘डलर, पाउन्ड, युरो, येनदेखि छिमेकी मुलुक चीनको युआन र भारतको भारुसम्मका आफ्नै आधिकारिक मुद्रा चिह्न छन्,’ आचार्यले भने, ‘तर हामी अझै पनि रुपैयाँको छोटकरी ‘रु.’ र अङ्ग्रेजीको ‘NPR’ जस्ता सामान्य अक्षरमै सीमित छौँ ।’

उनले नेपाली रुपैयाँको छुट्टै मुद्रा चिह्न निर्धारण गर्ने विषयलाई डिजिटल अर्थतन्त्रसँगै नेपालको मौलिक पहिचानसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।