बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृ-त्यु


रौतहट । रौतहटको बौधिमाई नगरपालिका–८ बंकुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गएराति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा परोहा नगरपालिका–९ का २८ वर्षीय जितेन्द्र दासको मृत्यु भएको हो ।

दुर्घटनाको खबर पाएपछि बिहान करिब ५ः३० बजे प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा टोली तथा जिल्ला प्रहरी कार्यालय गौरबाट मुचुल्का टोलीसमेत घटनास्थलमा खटिएको छ ।

मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।

मोटरसाइकल कसरी अनियन्त्रित भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।