परीक्षा प्रणालीमाथि सांसद भट्टराईको प्रश्न : ज्ञान जाँच्ने कि प्रश्न बुझ्ने ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टि भट्टराईले उच्च शिक्षामा पाठ्यसामग्री र प्रश्नपत्र नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उच्च शिक्षा अध्ययनरत विद्यार्थीले परीक्षामा भाषाका कारण भोग्नुपरेका समस्याबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

आफू भर्खरै स्नातकोत्तर तहको परीक्षा दिएर आएको प्रसङ्ग उल्लेख गर्दै सांसद भट्टराईले परीक्षा हलमा प्रश्नको भाषा नबुझेर विद्यार्थी अलमलमा पर्ने गरेको बताइन्। छेउमा रहेकी साथीले प्रश्न नै नबुझेको बताएपछि आफूलाई ‘हामी विद्यार्थीको विषयगत ज्ञान जाँचिरहेका छौँ कि प्रश्न बुझ्ने क्षमता ?’ भन्ने प्रश्न उठेको उनले सुनाइन्।

उनले आफ्नो पुस्ताले विद्यालय तहमा नेपाली बोल्दा समेत जरिवाना तिर्नुपर्ने अवस्था भोगेको स्मरण गर्दै अहिले विद्यार्थी न अङ्ग्रेजीमा पूर्ण सहज हुने न नेपालीमै पर्याप्त सहज हुने अवस्था रहेको बताइन्। नेपालको शिक्षा प्रणाली नै ‘नेपाङ्गलिस’ बन्दै गएको उनको टिप्पणी थियो।

विश्वविद्यालयमा पाठ्यक्रम अङ्ग्रेजीमा, कतिपय पाठ्यसामग्री नेपालीमा र प्रश्नपत्र पुनः अङ्ग्रेजीमा हुने अवस्थाले विद्यार्थीलाई विषयको ज्ञानभन्दा प्रश्नको भाषा बुझ्नमै समस्या हुने गरेको उनले बताइन्।

‘विद्यार्थी विषय नजानेर असफल हुन जायज छ, तर प्रश्न नबुझेर होइन,’ सांसद भट्टराईले भनिन्।

उनले उच्च शिक्षामा विद्यार्थीको सहजता र वास्तविक विषयगत ज्ञान परीक्षण सुनिश्चित गर्न पाठ्यसामग्री तथा प्रश्नपत्र दुवै भाषामा उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।