नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापनप्रति डा. कार्कीको आपत्ति


काठमाडौँ । नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनलाई ‘लज्जास्पद’ भन्दै तत्काल व्यापक संरचनागत सुधार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले निगमको व्यवस्थापकीय कमजोरीका कारण राष्ट्रिय ध्वजावाहकको बदनामी हुनुका साथै मुलुकको छविमासमेत असर परेको बताए ।

नेपालमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै विदेशी वायुसेवा कम्पनीले नेपाली बजारबाट लाभ लिइरहेको तर राष्ट्रिय ध्वजावाहक निगम भने निरन्तर घाटामा जानु दुःखद भएको उनको भनाइ थियो ।

सांसद कार्कीले निगमको वर्तमान संगठनात्मक संरचना र प्रशासनिक नियमावली व्यवसाय सञ्चालनका लागि उपयुक्त नभएको बताए । उनले जहाजको संख्या नबढाई निगमको व्यवसाय विस्तार गर्न कठिन हुने भन्दै सरकारबाट तत्काल ठोस हस्तक्षेप आवश्यक रहेको बताए ।

‘निगमको वर्तमान समस्या अहिलेको नेतृत्वका कारण मात्र होइन, लामो समयदेखि व्यवस्थापन, लगानी र सुधारमा आवश्यक सन्तुलन नहुँदाको परिणाम हो,’ उनले भने, ‘अहिलेको अवस्थालाई निगममा मेजर रिफर्म र पुनर्संरचना गर्ने अवसरका रूपमा लिनुपर्छ । व्यवसाय सञ्चालन गर्ने संस्थालाई आवश्यक व्यावसायिक लचकता दिनुपर्छ।’

उनले सीमित जहाजका आधारमा ठूलो अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने बताए । एउटा जहाजमा समस्या आउँदा त्यसको असर निगमको मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठामा समेत पर्ने उनको भनाइ थियो । व्यवसाय सञ्चालनमा अनावश्यक रूपमा बाधा पुर्‍याउने नियमभन्दा गलत काम गर्नेलाई जिम्मेवार बनाउने प्रणाली प्रभावकारी हुने उनले बताए ।

यसैगरी, सांसद कार्कीले निगमको नियमावलीमा रहेको महिला क्याबिन क्रुसम्बन्धी प्रावधानप्रति पनि आपत्ति जनाए । ४५ वर्षपछि महिलाले क्याबिन क्रुका रूपमा काम गर्न नपाउने व्यवस्था संविधान र सर्वोच्च अदालतको आदेशविपरीत रहेको उनको दाबी थियो ।

महिला र पुरुषबीच विभेद हुने कुनै पनि नीति तथा नियम संशोधन गर्नुपर्नेमा जोड दिँदै उनले निगमको नियमावलीमा रहेको उक्त व्यवस्था तत्काल पुनरावलोकन गर्न माग गरे । साथै, यस विषयमा अदालतको आदेश र सम्बन्धित कानुनी व्यवस्थाबारे समितिलाई स्पष्ट जानकारी गराउन आग्रह गरे ।