काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चमा मुख्य मञ्चसहित आवश्यक संरचना निर्माण तथा सजावटको काम अन्तिम चरणमा पुगेको छ।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ। असोज १८ देखि २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको बसोबासका लागि काठमाडौंका विभिन्न होटलमा व्यवस्था मिलाइएको छ। प्रतिनिधिका लागि भृकुटीमण्डपमा भोजन व्यवस्था गरिएको छ भने खुलामञ्चमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर र स्वास्थ्य सेवाका लागि हेल्थ डेस्कसमेत स्थापना गरिएको छ।
कांग्रेसले बन्दसत्र सञ्चालनका लागि तीनवटा हल तयार गरेको छ। मतदानका लागि खुलामञ्चसँगै राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानलाई समेत प्रयोग गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ।
उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।
कांग्रेसले भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकका राजनीतिक दल तथा विदेशी पाहुनालाई पनि निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् भने अन्य मुलुकका राजनीतिक दलका प्रतिनिधि तथा शुभकामना सन्देशसमेत प्राप्त भएको कांग्रेसले जनाएको छ।
महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्नेछ। सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ भने उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्।
यसपटक कांग्रेसले महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ।






















प्रतिक्रिया