कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा गर्ने तयारीमा मिनेन्द्र रिजाल


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेका छन्।

रिजालले पार्टीमा रहेका विभिन्न विचार, समूह र पुस्तालाई जोडेर अघि बढ्न आफूलाई जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। पार्टीभित्र विभिन्न समूहबीच मतभेद देखिएका बेला आफूले समन्वयको भूमिका निर्वाह गर्न चाहेको उनको भनाइ छ।

नेपाल प्रेससँग कुरा गर्दै रिजालले कांग्रेसलाई परिपक्व मार्गदर्शनसँगै गतिशील संगठनका रूपमा अघि बढाउन १५औँ महाधिवेशनमा गम्भीर बहस आवश्यक रहेको बताए।

उनले नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। ‘अनुभव पनि चाहिन्छ, नयाँ पुस्ताको आवाज पनि बोक्नुछ,’ भन्दै उनले पार्टीमा पुस्ताबीचको समन्वय आवश्यक रहेको बताएका छन्।

रिजालले आफूले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको जानकारी दिँदै पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूलाई दिन प्रतिनिधिहरूसँग विश्वास व्यक्त गरेका छन्।

‘मैले उपसभापति उम्मेदवार दिने निर्णय गरेको छु । पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी मलाई दिनुहुने विश्वास लिएको छु । सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूबाट सल्लाह, सुझाव र सहयोगको याचना गर्दैछु,’ उनले भनेका छन्।

रिजालले कांग्रेसमा आफ्नो लामो राजनीतिक अनुभवलाई नयाँ पुस्ताको ऊर्जासँग जोडेर संगठनलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको आगामी नेतृत्वमा पुस्तागत सन्तुलन र अनुभवी नेताको भूमिकाबारे बहससमेत अघि बढेको छ।

१५औँ महाधिवेशनमा उपसभापतिका लागि रिजालको उम्मेदवारीले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र अनुभवी पुस्ताको भूमिकाबीच समन्वय कसरी गर्ने भन्ने विषयलाई थप चर्चामा ल्याएको छ।