गुरु–चेलाबीच कांग्रेस सभापतिको भिडन्त, गगन थापालाई श्यामकृष्ण खड्गीको चुनौती


काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापालाई उनका पूर्वगुरु श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका थापा र उनका विद्यालयकालीन गणित शिक्षक खड्गीले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

साढे तीन दशकअघि थापा काठमाडौंस्थित सिद्धार्थ वनस्थली स्कुलमा विद्यार्थी हुँदा खड्गी त्यहाँ माध्यमिक तहमा गणित शिक्षक थिए। अहिले भने गुरु–चेला एउटै पार्टीको शीर्ष नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

खड्गीले कांग्रेसभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्दै पार्टीलाई एकताबद्ध र बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। उनले कांग्रेसको सुन्दर पक्ष नै प्रतिस्पर्धा भएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिको निर्णय आफूले स्वीकार गर्ने बताए।

गुरु–चेला प्रतिस्पर्धामा उत्रिएको प्रसंगमा खड्गीले आफूलाई खुसी लागेको प्रतिक्रिया दिएका छन्। उनले थापा राम्रो विद्यार्थी रहेको स्मरण गर्दै लोकतान्त्रिक अभ्यासमा अहिले आफूहरू सभापति पदमा प्रतिस्पर्धा गरिरहेको बताए।

खड्गीको राजनीतिक यात्रा २०४३ सालमा अमृत साइन्स क्याम्पसबाट सुरु भएको हो। उनी कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको सहसचिव तथा काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिसमेत भइसकेका छन्।

यता सभापतिका उम्मेदवार थापाले पार्टीभित्रको प्रतिस्पर्धामा जित–हार स्वाभाविक प्रक्रिया भएको बताएका छन्। उनले जित्दा अत्यधिक उत्साहित र हार्दा निराश नहुन आग्रह गर्दै आफ्नो राजनीतिक यात्रामा आफूले जित र हार दुवै अनुभव गरेको स्मरण गरे।

थापाले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताबीचको विभाजन अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीमा लामो समय योगदान दिएका सबै नेताहरूलाई समेट्ने गरी पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने धारणा राखेका छन्।

सभापतिका अर्का उम्मेदवार किशोरसिंह राठोरले भने आफू निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने दाबी गरेका छन्। उनले अहिले निर्वाचित हुन नसके पनि आगामी १६औँ महाधिवेशनलाई लक्ष्य बनाएर अघि बढ्ने बताएका छन्।

राठोरले स्वतन्त्र पार्टीका कारण कांग्रेस कमजोर भएको तथा कम्युनिस्ट शक्तिहरूबीच एकताको प्रयास भइरहेको अवस्थामा कांग्रेसलाई थप संगठित र एकताबद्ध बनाउनुपर्ने बताएका छन्। उनले विगतमा आफूले साथ दिएका नेताहरूले अहिले साथ नदिएको गुनासोसमेत गरेका छन्।