कांग्रेस महाधिवेशनको बन्द सत्र आज, सभापति थापाले सम्बोधन गर्ने


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने कार्यक्रम रहेको छ।

आजको बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

त्यस्तै, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पनि बन्द सत्रबाट पारित गरिनेछ।

सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यका अनुसार गत सोमबारदेखि ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर धारणा राख्दै आएका छन्। छलफलमा सातवटै प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।

आचार्यका अनुसार आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुनेछ। प्रतिवेदनमाथिको छलफल तथा आवश्यक प्रक्रिया पूरा गरेपछि ती प्रतिवेदन पारित गर्ने तयारी छ।

महाधिवेशनको भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।