स्थानीय तह निर्वाचनपछि महाधिवेशन गर्ने नेकपाको तयारी


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। मंसिरमा महाधिवेशन गर्न सम्भव नहुने निष्कर्षमा पुगेपछि पार्टीले नयाँ कार्यतालिकाबारे छलफल अघि बढाएको हो।

यसअघि नेकपाले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर सदस्यता नवीकरण तथा वितरणलगायतका संगठनात्मक काम पूरा हुन नसकेपछि उक्त कार्यतालिका प्रभावित भएको छ।

महाधिवेशनको नयाँ मिति तथा पार्टीको आगामी कार्ययोजनाबारे निर्णय गर्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएका छन्। बैठकले महाधिवेशनसँगै पार्टीले सञ्चालन गर्ने दुईमहिने अभियानबारे समेत निर्णय गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

ज्वालाका अनुसार यसअघि तय गरिएको पार्टीको कार्यतालिका प्रभावित भइसकेकाले अब बस्ने बैठकबाट महाधिवेशन र पार्टीका आगामी कार्यक्रमबारे आवश्यक निर्णय गरिनेछ।

पार्टीका एक नेताका अनुसार सदस्यता नवीकरण र वितरणलगायतका काम अझै पूरा नभएकाले स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको छ। उनका अनुसार स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले महाधिवेशनको विषयमा थप अलमल नगरी चुनावपछि गर्ने विकल्पबारे शीर्ष तहमा छलफल भइरहेको छ।

ती नेताका अनुसार संयोजक र सहसंयोजकले महाधिवेशनको विषयमा शीर्ष तहमा छलफल गरिरहेका छन्। यद्यपि, यसबारे औपचारिक निर्णय भने भइसकेको छैन।

पार्टी गठन भएको एक वर्ष पुग्न लाग्दासमेत संगठनात्मक समायोजनको काम पूर्ण रूपमा टुंगिन सकेको छैन। विभिन्न संगठनात्मक संरचना अझै अलग–अलग रूपमा सञ्चालन भइरहेकाले पनि महाधिवेशनअघि समायोजन तथा सदस्यता व्यवस्थापनका काम पूरा गर्नुपर्ने अवस्था रहेको नेताहरूले बताएका छन्।