हुम्ला । गएरातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि हुम्लाको जनजीवन प्रभावित भएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ।
नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली र ताँजाकोटलगायत तल्लो क्षेत्रमा रातिदेखि हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको हो।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।
सर्केगाड गाउँपालिका–१ जैरका दीपक कार्कीका अनुसार खच्चामा सुक्खा पहिरो जाने समस्या रहेकाले वर्षाका कारण थप समस्या भएको छ। लगातारको वर्षाले सडक अवरुद्ध भएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको उनले बताए।
वर्षाका कारण पाक्न लागेको अन्नबाली तथा खेतबारीमा लगाइएका तरकारीलगायतका बालीमा समेत क्षति पुग्ने जोखिम बढेको छ। केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्।
वर्षा र हिमपातका कारण पशुचौपायासमेत प्रभावित भएका छन्। चिसो बढेपछि खुला ठाउँ तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या हुन थालेको स्थानीयले बताएका छन्।
मौसममा अचानक आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जिल्लाका विभिन्न स्थानमा वर्षा तथा हिमपात भइरहेको भन्दै सुरक्षित रहन आग्रह गरे। उनका अनुसार वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ भने जिल्लाका केही क्षेत्रमा अझै वर्षा जारी छ।

















प्रतिक्रिया