वर्षाले बिथोल्यो कांग्रेसको बन्दसत्र


काठमाडौँ । हावाहुरीसहितको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ।

आजको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न राजनीतिक प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी थियो। तर अचानक ठूलो वर्षा भएपछि बन्दसत्र सञ्चालनमा समस्या भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बिहान साढे १० बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका रहे पनि खाजा समयपछि साढे ११ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको थियो। त्यही समयमा हावाहुरीसहित ठूलो वर्षा भएपछि खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन नसकेका हुन्।

कांग्रेसले महाधिवेशनको बन्दसत्र खुलामञ्चमा सञ्चालन गरिरहेको छ। प्रतिनिधिहरूका लागि भृकुटीमण्डपमा खाना तथा अन्य व्यवस्थापन गरिएको छ भने राष्ट्रिय सभागृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ। कांग्रेसको मतदान भने भोलि बिहान हुने कार्यतालिका छ।

प्रवक्ता चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा सहभागी हुन दिइएको छ। उनका अनुसार यसअघि भएको विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो।

बन्दसत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजबाट गरिनेछ। अन्य सञ्चारमाध्यमलाई समेत बन्दसत्रको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको चालिसेले बताए।

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।