जनकपुरधाम। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेस प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका बेला बढ्ने भिडभाड, सवारी चाप, चोरी–लुटपाट तथा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि प्रदेशका आठवटै जिल्लामा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले सडकदेखि सीमा नाकासम्म सुरक्षा निगरानी बढाइनेछ। राजमार्ग तथा मुख्य सडकमा सवारी चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती तथा स्कर्टिङ सञ्चालन गरिनेछ। यात्रुलाई आवश्यक सहयोगका लागि ६४ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिनेछ।
प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार भारतसँग जोडिएका सीमा नाकामा पनि सुरक्षा निगरानी कडा पारिनेछ। खुला सीमाको फाइदा उठाउँदै हुन सक्ने चोरी, तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखिएको उनले बताए।
धार्मिक तथा पर्यटकीय स्थल, बजार र बढी भिडभाड हुने क्षेत्रमा चोरी, पाकेटमारी तथा मानिस हराउने घटना रोक्न विशेष निगरानी गरिनेछ। सुरक्षा योजनाअन्तर्गत ३३९ स्थानमा पिकेट, १८० स्थानमा पैदल गस्ती र ८६ वटा मोबाइल गस्ती परिचालन गरिने प्रहरीले जनाएको छ।
छठ पर्वका बेला नदी, पोखरी तथा अन्य जलाशयका घाटमा ठूलो भिड लाग्ने भएकाले डुबान तथा भिडजन्य दुर्घटना रोक्न पनि विशेष सुरक्षा व्यवस्था गरिनेछ। त्यसैगरी जुवा, तास, अवैध सट्टेबाजी, पटाका तथा आतिशबाजी, मादक पदार्थ सेवनबाट हुने झैझगडा, कुटपिट र घरेलु हिंसामाथि निगरानी बढाइनेछ।
देउसी–भैलो, सांस्कृतिक कार्यक्रम तथा डिजेका कारण रातिको समयमा हुन सक्ने शान्ति–सुरक्षाको चुनौतीलाई समेत प्रहरीले ध्यानमा राखेको छ। धार्मिक कार्यक्रमका क्रममा जुलुस तथा ध्वनि प्रयोगबाट स्थानीय विवाद वा सामाजिक तनाव उत्पन्न हुन सक्ने अवस्थालाई पनि सुरक्षा चुनौतीका रूपमा राखिएको प्रहरीले जनाएको छ।
सम्भावित आगलागी, विद्युत् सर्ट, भिडजन्य दुर्घटना तथा अन्य आकस्मिक घटनाका लागि विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिनेछ। सुरक्षा योजनाअन्तर्गत ९२ वटा क्विक रेस्पोन्स टिमसमेत परिचालनका लागि तयारी अवस्थामा रहनेछन्।
कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि, अवैध मदिरा तथा लागुऔषध कारोबार नियन्त्रणमा पनि प्रहरीले सक्रियता बढाउने जनाएको छ। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह तथा गलत सूचनाका कारण सामाजिक तनाव उत्पन्न हुन सक्ने भन्दै त्यसतर्फ समेत निगरानी बढाइनेछ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित ड्युटीबाहेक संयुक्त गस्ती, सादा पोशाकमा सूचना सङ्कलन तथा आकस्मिक ड्युटीमा समेत प्रहरी परिचालन गरिनेछ।
जिल्लागत रूपमा सबैभन्दा धेरै प्रहरी धनुषामा १ हजार ५९९ जना परिचालन गरिनेछ। त्यस्तै बारामा ८७०, रौतहटमा ८६३, सप्तरीमा ८५७, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, पर्सामा ६६१ र सिरहामा ६५१ जना प्रहरी परिचालन हुनेछन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा थप १८९ जनशक्ति परिचालन गरिनेछ।
मधेस प्रदेश प्रहरीका अनुसार विशेष सुरक्षा योजना असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।

















प्रतिक्रिया