कुनै पदमा उम्मेदवारी नदिए पनि पार्टीमा सक्रिय रहन्छु : अर्जुननरसिंह केसी


काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटबन्दी, आन्तरिक फूट र भागबन्डाको राजनीति अन्त्य गर्दै नयाँ र सशक्त कांग्रेस निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनले तय गर्ने नीति, कार्यक्रम र निर्णयको प्रभावकारी कार्यान्वयन नै अबको मुख्य दायित्व रहेको बताउँदै केसीले पार्टीलाई वैचारिक पुनर्जागरणसहित अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले वर्षौँदेखि पार्टीलाई जकडेको अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबन्डाको राजनीतिबाट कांग्रेसलाई मुक्त गर्दै वैचारिक पुनर्जागरणसहित नवीन र परिवर्तित कांग्रेस निर्माण गर्नु विशेष महाधिवेशनको मूल उद्देश्य रहेको उल्लेख गरे। १५औँ महाधिवेशनले उक्त लक्ष्यलाई पूर्ण रूपमा सार्थक बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

नेतृत्व चयनका क्रममा निष्ठावान् कार्यकर्ताको योगदान, जनप्रियता, उच्च योग्यता, सांगठनिक प्रतिबद्धता तथा युवा सहभागितालाई प्रमुख आधार बनाउनुपर्ने केसीको भनाइ छ। उनले सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके स्वस्थ, निष्पक्ष तथा गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार गर्नुपर्ने बताए।

केसीले लोकतान्त्रिक प्रतिस्पर्धाका क्रममा मत विभाजन भए पनि पार्टीभित्रको मन विभाजन हुन नहुने धारणा राखेका छन्। विचार र विवेकको स्वतन्त्र प्रयोग नै लोकतन्त्रको वास्तविक सुन्दरता भएकाले महाधिवेशनको प्रतिस्पर्धालाई कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट मुक्त राख्नुपर्ने उनले बताए।

यसैबीच, केसीले १५औँ महाधिवेशनमा आफूले कुनै पनि पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका छन्। उनले उम्मेदवारी नदिने निर्णय असन्तुष्टि, निराशा वा कुनै अडानका कारण नभएको बताएका छन्।

‘यो निर्णय कुनै असन्तुष्टि, निराशा वा अडानका कारण लिइएको होइन। म पूर्ववत् उत्साह र ऊर्जाका साथ तपाईँहरूसँगै निरन्तर क्रियाशील रहनेछु,’ उनले भनेका छन्।

पार्टीभित्र आफ्नो आगामी भूमिका व्यक्तिगत पद प्राप्तिभन्दा कांग्रेसको एकता, संस्थागत सुदृढीकरण र राष्ट्रिय एकतामा केन्द्रित हुने केसीले बताएका छन्। उनले पार्टीको अभेद्य एकता कायम गर्दै संस्थागत संरचनालाई बलियो बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए।

केसीले प्राविधिक वा सर्तसहितको एकताले मात्र पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउन नसक्ने धारणा राखेका छन्। उनका अनुसार सैद्धान्तिक, वैचारिक र भावनात्मक एकतामार्फत मात्रै कांग्रेसलाई प्रभावकारी र जनमुखी पार्टीका रूपमा अघि बढाउँदै समृद्ध नेपाल निर्माण तथा राष्ट्रिय एकताको मार्ग प्रशस्त गर्न सकिन्छ।