मौसम बिग्रिएपछि सिमराबाट काठमाडौंको उडान जनकपुरतर्फ डाइभर्ट


काठमाडौँ । खराब मौसमका कारण सिमराबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ।

बुद्ध एयरको U4 554 उडान बुधबार बिहान १०ः३० बजे सिमरा विमानस्थलबाट काठमाडौँका लागि उडेको थियो। काठमाडौँको आकाशमा पुगेपछि विमान करिब ३० मिनेटसम्म आकाशमै होल्ड भएको थियो।

काठमाडौँ विमानस्थल क्षेत्रमा पानी परिरहेको तथा मौसम प्रतिकूल बनेपछि विमान अवतरण गर्न नसक्दा जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको हो।

विमान करिब १२ः३० बजे जनकपुर विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको बताइएको छ।

विमानका कर्मचारीका अनुसार जनकपुरको मौसम र विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जहाजलाई पुनः काठमाडौँका लागि उडाउने तयारी गरिएको छ।

बुधबार बिहानदेखि काठमाडौँ उपत्यकामा भिजिबिलिटी कम हुनुका साथै वर्षा र खराब मौसम देखिएको छ। मौसम प्रतिकूल भएपछि काठमाडौँतर्फ हुने केही आन्तरिक उडान प्रभावित भएका छन्।

काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेपछि केही उडान होल्ड तथा डाइभर्ट गर्नुपर्ने अवस्था आएको विमानस्थल स्रोतले जनाएको छ।