तरुण दललाई महेन्द्र यादवले भने– सरकारको कदमविरुद्ध आन्दोलनका लागि तयार रहनुस्


काठमाडौँ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्था जोगाउन आवश्यक परे आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअध्यक्षसमेत रहेका यादवले बालेन शाह नेतृत्वको सरकारको आलोचना गर्दै संविधान र व्यवस्था जोगाउन तरुण दललाई सजग र तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।

यादवले वर्तमान राजनीतिक परिस्थितिलाई विषम रहेको बताउँदै आवश्यक परे आन्दोलन तथा जेल जानसमेत तयार रहनुपर्ने धारणा राखे।

‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र र संविधान जोगाउनका लागि भोलि हामीले आन्दोलन गर्नुपर्ने हुन सक्छ, जेल जानुपर्ने हुन्छ, त्यसका लागि पनि तयार हुनुस्,’ उनले भने, ‘यो सन्काहा सरकार हो। जतिबेला पनि संविधान र व्यवस्था मास्न सक्छ। त्यसका लागि सजग भएर तरुण दल बस्नुपर्छ।’

यादवले वर्तमान अवस्थामा संविधान र राजनीतिक व्यवस्थाको संरक्षणका लागि तरुण दलले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दाबी गरे। उनले तरुण दलका नेता–कार्यकर्तालाई एकढिक्का भएर अघि बढ्नसमेत आग्रह गरे।

‘तरुण दल एक ढिक्का भएर पार्टी पनि जोगाउनु छ, संविधान पनि जोगाउनु छ र तरुण दललाई पनि जोगाउनु छ,’ उनले भने।

यादवले आफू तरुण दलको पूर्वअध्यक्ष भए पनि अहिले नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि मधेसी क्लस्टरबाट उम्मेदवार रहेको जानकारी दिँदै आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरे।

उनले पार्टी, संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि कांग्रेसका युवा संगठनलाई थप संगठित र सक्रिय बनाउनुपर्नेमा जोड दिए। तरुण दललाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले आगामी दिनमा राजनीतिक रूपमा थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।