एआई ग्लोबल समिटमा नेपाललाई निम्तो, सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका नीति सल्लाहकारको भेट


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य, सहयोग तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूचना तथा सञ्चार प्रविधिसहित विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।

भेटमा डिजिटल सुरक्षा, डिजिटल सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले लिन सक्ने लाभका विषयमा समेत छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सूचना प्रविधिको क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन आवश्यक वातावरण क्रमशः सहज बन्दै गएको बताए।

सो अवसरमा वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ गते स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि औपचारिक निमन्त्रणा दिएकी छन्।

भेटका क्रममा सम्मेलनमा नेपालको प्राथमिकता तथा सम्बन्धित सरोकारवालाको भूमिकाबारे समेत जानकारी लिइएको थियो। एआईको विकास, प्रयोग र नियमनका विषयमा विश्वव्यापी छलफलका लागि आयोजना हुने सम्मेलनमा नेपालको सहभागिताबारे समेत छलफल भएको जनाइएको छ।

त्यस्तै, भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो।

हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीच सहकार्य गर्दै आएको छ।

नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिरहेका बेला स्विट्जरल्यान्डसँग डिजिटल सुरक्षा, एआई, सूचना प्रविधि तथा अनलाइन अधिकारका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाका विषयमा भएको छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ।