आज पनि देशभर झरीको सम्भावना, शनिबारदेखि मौसम खुल्ने


काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने भएको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम शुक्रबारसम्म जारी रहनेछ भने शनिबारदेखि मौसममा क्रमशः सुधार आउनेछ।

मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। उनका अनुसार बिहीबार दिनभर वर्षा हुने सम्भावना रहे पनि रातिदेखि मौसममा केही सुधार आउनेछ। यद्यपि शुक्रबार दिउँसो पुनः वर्षा हुने सम्भावना रहेको उनले बताए।

लामिछानेका अनुसार शनिबारदेखि भने मौसममा क्रमशः सुधार आउनेछ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा भइरहेको हो।

आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमलपानी केन्द्रमा ५८ दशमलव २ मिलिमिटर मापन भएको छ। उक्त वर्षा भारी वर्षाका रूपमा रहेको जनाइएको छ।

यस्तै, काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

वर्षाका कारण सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राखी सावधानी अपनाउनुपर्ने देखिएको छ।

मौसमविद्का अनुसार शुक्रबारसम्म वर्षाको प्रभाव रहे पनि शनिबारदेखि मौसममा सुधार आउने भएकाले आगामी दिनमा वर्षाको क्रम क्रमशः घट्दै जानेछ।