कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम तय भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी मतदान सुरु गर्न लागिएको हो।

निर्वाचन समितिले प्रतिनिधिहरूको सहजताका लागि काठमाडौँका तीन स्थानमा सातवटा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र रहनेछन्।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसँगै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

त्यस्तै, प्रज्ञा–प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।