दाङ । दाङको तुलसीपुरबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता तथा समाजसेवी अंकित ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
युवा पुस्तामाझ परिचित ओलीले विदेशस्थित नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्। लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायसँग जोडिएका ओली सामाजिक गतिविधिसँगै संगठन निर्माण र नेपाली समुदायका सवालमा सक्रिय रहँदै आएका छन्।
दाङको माटोमा हुर्किएका ओली विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका युवा नेता हुन्। नेपाल विद्यार्थी संघसँग आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय बनेका उनले त्यसपछि प्रवासमा समेत आफ्नो राजनीतिक तथा सामाजिक सक्रियतालाई निरन्तरता दिँदै आएका छन्। ओली सन् २०१७ देखि आयरल्याण्डमा रहँदै आएका छन्।
विदेशमा रहे पनि नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै उनले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएका छन्। प्रवासमा रहेका नेपालीका समस्या र आवश्यकतालाई सम्बन्धित तहसम्म पुर्याउन आफू सक्रिय रहेको ओली बताउँछन्। यसपटक कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्यका लागि प्रतिनिधित्व हुने व्यवस्था गरेपछि ओलीले त्यसैअन्तर्गत उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीसँगै दाङ–तुलसीपुरबाट प्रवास हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा युवा प्रतिनिधित्वको विषयसमेत चर्चामा आएको छ।
आफ्नो राजनीतिक यात्रालाई नयाँ चरणमा अघि बढाउने उद्देश्यसहित उम्मेदवारी दिएका ओलीले कांग्रेसको गौरवपूर्ण इतिहासलाई आत्मसात् गर्दै नयाँ पुस्ताको सहभागिता, प्रवासी नेपालीको आवाज र संगठनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। तुलसीपुरको स्थानीय परिवेशबाट राजनीतिक यात्रा सुरु गरेका ओली अहिले आयरल्याण्डमा रहेर नेपाली समुदायसँग जोडिँदै आएका छन्।
१५औँ महाधिवेशनमा उनको उम्मेदवारीले दाङको स्थानीय राजनीतिदेखि प्रवासी नेपालीको प्रतिनिधित्वसम्मको एउटा फरक यात्रालाई समेत देखाएको छ।

















प्रतिक्रिया