काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन्।
बुधबार रातोपाटीसँगको कुराकानीमा खड्गीले आफू सभापति पदको प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारे। उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदै प्रतिस्पर्धा गर्ने बताए।
‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’ खड्गीले भने।
खड्गीले उम्मेदवारी कायम राख्ने भएपछि कांग्रेस सभापति पदमा गगनकुमार थापा र उनीबीच प्रतिस्पर्धा हुने देखिएको छ। यद्यपि, निर्वाचन समितिले अन्तिम उम्मेदवारको नामावली भने सार्वजनिक गरिसकेको छैन।
यसअघि सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ।

















प्रतिक्रिया