खगेन्द्र सुनारको दाबी : राजदूत नियुक्तिको आरोपमा आईजीपीको षड्यन्त्र


काठमाडौँ । राजदूत नियुक्तिमा करोडौँ रुपैयाँ असुली गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो बचाउ गर्दै आरोप अस्वीकार गरेका छन्।

बुधबार केही युट्युबरसँग कुराकानी गर्दै सुनारले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारसँग आफ्नो थर मात्र मिलेको दाबी गरे। उनले डा. गिरबहादुरसँग आफ्नो कुनै आर्थिक सम्बन्ध नरहेको बताए।

‘डा. गिरबहादुर सुनारसँग मेरो कुनै आर्थिक साँठगाँठ छैन । उहाँसँग मेरो थर र ओशोको माला मात्र मिलेको हो,’ उनले भने, ‘सरकारको मापदण्ड पूरा गरेर आएका व्यक्तिलाई मसँग जोडेर बदनाम गर्न खोजिएको छ।’

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारले सांसद खगेन्द्र सुनारसँग मिलेर रकम व्यवस्थापन गरेको दाबीसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेको विषय सार्वजनिक भएको छ। सुनारले भने आफूले गिरबहादुरलाई समेत नचिनेको दाबी गरेका छन्।

दलित आन्दोलनका नाममा १० करोड रुपैयाँ उठाएर हिनामिना गरेको तथा सरुवा–बढुवामा लेनदेन गरेको आरोपलाई पनि उनले अस्वीकार गरे। समानुपातिक सांसद बनाइदिने भन्दै ५० लाख रुपैयाँ लिएको भन्ने आरोपलाई उनले कपोलकल्पित भएको बताए।

सुनारले आफूविरुद्ध नेपाल प्रहरीको उच्च नेतृत्व र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियोजित रूपमा षड्यन्त्र र घेराबन्दी गरिरहेको आरोपसमेत लगाए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नामै लिएर उनले प्रहरी स्रोतसाधनको दुरुपयोग गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्न साइबर टिम परिचालन गरिएको दाबी गरे।

‘सीआईबीले प्राइभेट नम्बरबाट फोन गरेर मसँग जोडिएका मान्छेहरूलाई धम्काइरहेको छ, मेरो पछाडि डीएसपी र एसपी खटाइएको छ,’ उनले भने, ‘दम छ भने प्रहरी महानिरीक्षकले बर्दी खोलेर राजनीतिमा आउनुपर्छ। हेडक्वार्टरमा बसेर सांसदलाई लखेट्न मिल्दैन।’

सुनारले आफू र प्रहरी नेतृत्व दुवै निष्पक्ष छानबिनका लागि तयार हुनुपर्ने बताएका छन्। आफूमाथि लागेका आरोप प्रमाणित भए सांसद पदसमेत छाड्न तयार रहेको उनको दाबी छ।

‘म संसद् पद छोड्न डेफिनेट्ली तयार छु। ममाथि लागेका आरोपमा रौँजति मात्रै प्रमाण भेटियो भने म लुगा फुकालेर संसद्बाट बाहिरिन्छु,’ उनले भने।

सुनारले आफूलाई बदनाम गराउन भारत, अमेरिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बालुवाटार र न्युरोडका सुन पसलसम्म जोडेर भ्रामक प्रचार भइरहेको दाबीसमेत गरेका छन्।

सुनारका यी आरोप र दाबीबारे नेपाल प्रहरी, प्रहरी महानिरीक्षक तथा सीआईबीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।