प्रहरी पोसाक खरिद अनियमितता छानबिन गर्न १९ बुँदे कार्यविधि पारित


काठमाडौँ । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिले १९ बुँदे कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।

बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि पारित गरेको हो। बैठकमा उपसमितिका सबै सदस्यले कार्यविधिमा हस्ताक्षर गरेका छन्।

उपसमितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमित समयभित्र प्राप्त कागजात तथा प्रमाणहरूको प्रभावकारी अध्ययन गर्नु मुख्य चुनौती रहेको बताए। उनका अनुसार उपसमितिको अर्को बैठक दसैँपछि बस्नेछ।

उपसमितिले विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरेको छ। प्राप्त दस्तावेजको गोपनीयता कायम राख्न लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गर्ने व्यवस्था गरिएको छ।

उपसमितिले कुनै पनि कागजात सभाहलबाट बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने व्यवस्था गरेको छ। यसबाट अध्ययनका क्रममा प्राप्त संवेदनशील कागजात तथा प्रमाणको गोपनीयता कायम राख्ने उद्देश्य राखिएको छ।

चाडपर्वका कारण हुने लामो बिदा तथा उपसमितिका सदस्यहरूको जिल्ला भ्रमणका कारण तोकिएको समयभित्र काम सम्पन्न गर्न चुनौती रहेको सभापति झाले बताए।

उपसमितिलाई प्राप्त कागजात, तथ्य तथा प्रमाणहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन दुई महिनाको समयसीमा तोकिएको छ। उपसमितिको कार्यअवधि आगामी मङ्सिर २० गतेसम्म रहनेछ।