पर्यटन बोर्डमाथि प्रश्न उठाउँदै महासंघ गठनको तयारी


काठमाडौँ । पर्यटन क्षेत्रका प्रमुख निजी संघसंस्था मिलेर ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने तयारी अघि बढाएका छन्। पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले पर्यटन उद्योगका समस्या समाधानका लागि छुट्टै छाता संगठन गठन गर्न लागेका हुन्।

आइतबार राजधानीमा बसेको प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको ‘प्रेसिडेन्टल बैठक’ले नेपाल पर्यटन महासंघ गठनको प्रस्तावलाई सर्वसम्मत रूपमा अघि बढाउने निर्णय गरेको बताइएको छ। ‘वान टिम, वान भिजन, वान भ्वाइस’ अवधारणासहित महासंघ गठनको प्रक्रिया अघि बढाइने भएको हो।

अभियानमा होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), पर्वतारोहण सञ्चालक संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र वायुसेवा सञ्चालक संघलगायतका संस्थाहरू सहभागी रहेको जनाइएको छ।

बैठकमा सहभागी व्यवसायीहरूले पर्यटन बोर्डको वर्तमान कार्यशैली र औचित्यमाथि प्रश्न उठाउँदै संस्थाको पुनर्संरचनाको माग गरेका छन्। उनीहरूले पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई बजेट खर्चमा मात्र सीमित नगरी परिणाममुखी बनाउनुपर्ने र डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, तथ्यमा आधारित बजार अनुसन्धान तथा नयाँ गन्तव्य विकासमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।

व्यवसायीहरूले पर्यटन बोर्डको सञ्चालक समितिमा निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत गरेका छन्। साथै, बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा राजनीतिक भागबन्डाभन्दा पर्यटन क्षेत्रको ज्ञान, अनुभव, व्यावसायिक दक्षता र स्पष्ट कार्ययोजना भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।

हालैको बाढीपहिरो तथा विपद्का क्रममा पर्यटक र पर्यटन मजदुरको खोज, उद्धार तथा राहतमा राज्य संयन्त्र प्रभावकारी हुन नसकेको भन्दै बैठकमा असन्तुष्टिसमेत व्यक्त गरिएको थियो। पदयात्री पर्यटकबाट उठाइएको टिम्स कोषमा रहेको रकम विपद् उद्धार तथा राहतमा परिचालन गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन्।

त्यस्तै, विपद्का कारण ज्यान गुमाउनेहरूको स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको स्मारक पार्क निर्माण गर्न सरकारसँग माग गरिएको छ। पीडित परिवारका बालबालिकाको शिक्षादीक्षामा दीर्घकालीन सहयोग गर्न निजी क्षेत्र आफैँले पहल गर्ने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरिएको जनाइएको छ।

बैठकले समयानुकूल पर्यटन ऐन ल्याउन तथा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ। निगमलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा व्यावसायिक रूपमा सञ्चालन गर्नुपर्ने व्यवसायीहरूको धारणा छ।

पर्यटन उद्योगका समस्या समाधानका लागि अब सरकारसँग संस्थागत रूपमा प्रत्यक्ष संवाद गर्ने र निजी क्षेत्रको साझा आवाजलाई बलियो बनाउने उद्देश्यसहित महासंघ गठनको प्रक्रिया अघि बढाइने बताइएको छ।