काठमाडौं । व्यापार तथा उद्योग क्षेत्रमा योगदान पुर्याउँदै आएका युवा उद्यमी राज कार्कीलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ प्रदान गरिएको छ।
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेस्रो संस्करणको ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ समारोहमा कार्कीलाई व्यापार तथा उद्योग क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
समारोहमा विभिन्न देश तथा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पूर्वमन्त्री तथा जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतको प्रमुख आतिथ्यता रहेको थियो। पूर्वसांसद विनोद पहाडीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा अन्तर्राष्ट्रिय इभेन्ट निर्देशक भारत समारीको समेत उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्कीले व्यवसाय तथा उद्योग क्षेत्रमा नवीन सोच, व्यावसायिक अनुशासन र निरन्तर मेहनतका साथ काम गर्दै आएको बताइएको छ। उनका व्यावसायिक गतिविधिले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न योगदान पुगेको आयोजकको भनाइ छ।
अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थितिमा नेपालको प्रतिनिधित्व गर्दै सम्मान प्राप्त गर्न पाउँदा आफूलाई गर्व लागेको कार्कीले बताएका छन्। उनका अनुसार अवार्डले नेपाल तथा विदेशमा रहेका नेपाली युवालाई उद्यमशीलतामा अघि बढ्न थप प्रेरणा मिल्नेछ।
कार्कीले आगामी दिनमा आफ्नो व्यावसायिक गतिविधिलाई थप विस्तार गर्दै व्यापार तथा उद्योगसँगै समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई समेत निरन्तरता दिने बताएका छन्।




















प्रतिक्रिया