काठमाडौं – आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु र चरित्रहरूबारे झलक प्रस्तुत गरेको छ ।
ग्रामीण परिवेशमा आधारित चलचित्रले मुख्य रूपमा आमा–छोराबीचको आत्मीय सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई केन्द्रमा राखेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादबाट सुरु हुने ट्रेलरले चलचित्रको मुख्य कथावस्तुतर्फ संकेत गर्छ । विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका छोराको संघर्ष र बाबुसँगको द्वन्द्वलाई चलचित्रमा प्रस्तुत गरिएको छ । आमाप्रतिको छोराको माया, जिम्मेवारी र भावनात्मक सम्बन्धलाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायत कलाकारको अभिनय रहेको छ ।
यसै चलचित्रमार्फत अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् । उनीहरूको पुनरागमनलाई पनि चलचित्रको आकर्षणका रूपमा हेरिएको छ ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।
चलचित्रमा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

















प्रतिक्रिया