काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना श्रीमान् थोमसलाई पशुपतिनाथ मन्दिरको मूल मन्दिरभित्र प्रवेश गर्ने अनुमति नभएको स्पष्ट पारेकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले पशुपतिनाथ दर्शनका क्रममा थोमस मूल मन्दिरको ढोकासम्म मात्रै पुगेको र आफू भने मन्दिरभित्र प्रवेश गरेको बताएकी हुन्।
उनका अनुसार पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा नियमअनुसार थोमसलाई मूल मन्दिरभित्र प्रवेश गर्न अनुमति दिइएको थिएन। आफूलाई सोही दिन सुरक्षाकर्मीबाट समेत यसबारे जानकारी प्राप्त भएको उनले बताएकी छन्।
तामाङले भारतकी कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिर पुग्दा पनि मूल मन्दिरभित्र प्रवेशको अनुमति नभएको उदाहरण दिएकी छन्।
‘आफ्नो–आफ्नो धर्मको नियम हुन्छ। संविधानका विधान भएजस्तै धर्मका पनि आफ्नै विधान हुन्छन्, जसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ तामाङले भनेकी छन्।
तामाङका अनुसार उनी मात्रै मूल मन्दिरभित्र प्रवेश गरेकी थिइन्। त्यहाँका पुजारीले आफूलाई माला, खादा र टीका प्रदान गरेको तथा थोमसका लागि पनि छुट्टै प्रसाद तथा पूजाका सामग्री दिइएको उनले बताएकी छन्।
मन्दिरबाट बाहिर आएपछि आफूले थोमसलाई माला र टीका लगाइदिएको पनि तामाङले स्पष्ट पारेकी छन्।
धार्मिक आस्था र परम्परासँग जोडिएका विषयलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताउँदै तामाङले थोमसको पशुपतिनाथ प्रवेशलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चा र टिप्पणीबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।




















प्रतिक्रिया