११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारीको उपस्थिती


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सदस्यका रूपमा पार्टीको औपचारिक बैठकमा सहभागी भएकी छिन् ।

भण्डारी पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताको हैसियतमा सहभागी भएकी हुन् । एमाले केन्द्रीय कमिटीको असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।

२०७२ सालमा राष्ट्रपति बनेपछि भण्डारी एमालेका औपचारिक बैठकमा सहभागी हुन पाएकी थिइनन् । दुई कार्यकाल राष्ट्रपति भएर २०७९ सालमा पदावधि पूरा गरेपछि भने उनी पुनः एमाले राजनीतिमा सक्रिय हुने इच्छा व्यक्त गर्दै आएकी थिइन् ।

गत जेठमा बसेको एमाले केन्द्रीय पदाधिकारी बैठकले भण्डारीको पेन्डिङमा रहेको पार्टी सदस्यता फुकुवा गरेपछि उनको सक्रिय राजनीतिक यात्राको बाटो खुलेको थियो । त्यसपछि उनी पार्टीका गतिविधिमा सक्रिय हुँदै आएकी हुन् ।

च्यासलमा आयोजित कार्यक्रममा भण्डारीले वरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको हो ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका विभिन्न एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल हुनेछ । छलफलपछि आवश्यक निर्णय गरिने उनले जानकारी दिए ।