काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। नियमित गस्ती, चेकजाँच तथा शंकास्पद गतिविधिमाथिको निगरानीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुरको नक्खु दोबाटोबाट दुई जना, धादिङको गजुरी–२ चाम्वासबाट एक जना, सिरहाको पिपरा टोलबाट दुई जना, झापाको दमक–१ मामाचोकस्थित खोटाङ होटलबाट चार जना र सप्तरीको बोदेबरसाइन–५ बाट दुई जना पक्राउ परेका छन्।
त्यस्तै, बर्दियाको बढैयाताल–२ जमुनी बजारबाट दुई जना, मोरङको विराटनगर–११ अल्का मार्गबाट तीन जना, कास्कीको पोखरा–३ नदीपुरबाट एक जना, सुनसरीको इटहरी–१९ अमाहाचोकबाट एक जना र बराहक्षेत्र–३ नयाँ बस्तीबाट तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मकवानपुरको हेटौँडा–११ सागरपथबाट दुई जना तथा सुर्खेतको वीरेन्द्रनगर–११ बाट पनि दुई जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।




















प्रतिक्रिया