काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यम प्रयोग गर्न नागरिकलाई आग्रह गरेका छन्।
डिजिटल प्रविधिको विस्तार भइरहे पनि अझै ७३ प्रतिशत नागरिकले भौतिक रूपमा विद्युत् महसुल संकलन काउन्टरमै पुगेर भुक्तानी गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आग्रह गरेका हुन्।
उनका अनुसार डिजिटल माध्यमबाट महसुल तिर्दा नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुनुका साथै नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र भुक्तानीको सुरक्षा बढ्छ। काउन्टर सञ्चालनमा खर्च हुने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न समेत सकिने उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गत ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा रहेको मन्त्री श्रेष्ठले बताएका छन्। ती काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने उनका अनुसार मासिक खर्च करिब ५ करोड रुपैयाँ पुग्छ।
मन्त्री श्रेष्ठले ठूलो संख्यामा नागरिक अझै काउन्टरमै पुग्नुपर्ने अवस्थालाई क्रमशः परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले परिवार, इष्टमित्र, छरछिमेकी तथा आफूले चिनेका व्यक्तिलाई डिजिटल भुक्तानीको प्रयोगबारे जानकारी दिन र सिकाउन समेत आग्रह गरेका छन्।
विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने अभिभावक तथा ज्येष्ठ नागरिकलाई एकपटक डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न सिकाइदिन उनले अनुरोध गरेका छन्। ‘तपाईंले दिएको केही मिनेटको समयले उहाँहरूको हरेक महिनाको समय बचाउन सक्छ,’ उनले भनेका छन्।
मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई केवल प्रविधिको प्रयोग बढाउने अभियानका रूपमा नभई नागरिकको समय बचत, सेवा प्रवाहमा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।




















प्रतिक्रिया