त्रिवि सभामा मन्त्री पोखरेलविरुद्ध कालो ब्यानर प्रदर्शन


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ सभा बैठकमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएर विरोध गरेका छन्।

बिहीबार त्रिवि सभा बैठकमा सहभागी हुन जाने क्रममा विद्यार्थीहरूले मन्त्री पोखरेललाई कालो ब्यानर देखाएका हुन्।

विद्यार्थीहरूसँग संवाद नगरी त्रिवि ऐन परिमार्जन गर्न लागिएको र उनीहरूका माग तथा सरोकारलाई बेवास्ता गरिएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका थिए।

नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सनम वलीले त्रिविको सिनेट बैठकमा कुलपति नै सहभागी नभएको भन्दै आपत्ति जनाए। उनले कुलपति बैठकमा उपस्थित नहुँदा सिनेटको मर्यादा घटेको टिप्पणी गरे।

त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ। बिहीबार आयोजित ६७औँ सभा बैठकमा विश्वविद्यालयसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा निर्णय हुने कार्यसूची रहेको थियो।