काठमाडौँ । काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘आयन माझी समूह’का नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी ढुङ्गेअड्डा बस्ने २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोज कुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन्।
प्रहरीका अनुसार असोज २१ गते जडीबुटी पुलमुनिको सडकखण्डबाट माझीलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नुका साथै घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
माझीको बयान तथा अनुसन्धानका आधारमा प्रहरीले लुटपाटमा संलग्न मोक्तान र थिङलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो। लुटपाटका क्रममा मोक्तानले मोटरसाइकल चलाउने र थिङले पछाडि बसेर लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानबाट माझीविरुद्ध काठमाडौँ, भक्तपुर र काभ्रेमा डाँका चोरीसम्बन्धी २७ वटा मुद्दा दर्ता रहेको खुलेको छ। २०७७ सालमा डाँका चोरी मुद्दामा तीन महिना कैद बसेका उनी धरौटीमा छुटेपछि सोही मुद्दामा फरार रहेका थिए। अदालतले पुनः ६ महिना कैद सजाय तोकेपछि २०८२ वैशाखमा पक्राउ परेका माझीले तीन महिना कैद भुक्तान गरेर छुटेको प्रहरीले जनाएको छ।
कारागारबाट छुटेपछि माझी पुनः लुटपाटमा सक्रिय भएको प्रहरीको भनाइ छ। उनले समूह बनाएर बिहान मर्निङ वाकमा निस्कने तथा तरकारी किन्न जाने सर्वसाधारणलाई लक्षित गर्दै सिक्री र नगद लुट्ने गरेको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, ‘इनड्राइभ’ र ‘पठाओ’ चालकको बहाना बनाई यात्रुलाई सुनसान स्थानमा लगेर हतियार देखाएर लुटपाट गर्ने गरेको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माझीले सिक्री लुट्ने, मोटरसाइकल चोरी गर्ने तथा डलर देखाएर ठगी गर्ने समूहसँग सम्पर्क बढाउँदै आफ्नै गिरोह बनाएका थिए। लुटपाटका लागि उनीहरूले काठमाडौँका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका आधुनिक हतियारसमेत खरिद गर्ने तयारीमा समूह रहेको जानकारी पाएको जनाएको छ। बालकुमारी पुलमुनिबाट चोरी भएको पल्सर २२० मोटरसाइकलसमेत उनीहरूले लुटपाटमा प्रयोग गरेको खुलेको छ।
प्रहरीका अनुसार समूहले असोज १४ गते बौद्धमा तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बलबाट दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेको थियो। त्यस्तै, असोज १३ गते डल्लु चौतारामा कारभित्र रहेका रमेश खड्काको घाँटीबाट करिब १० लाख ५० हजार रुपैयाँ बराबरको साढे तीन तोलाको सुनको सिक्री लुटेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट लुटपाटमा प्रयोग भएका दुई मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट, एक थान खुकुरी तथा घटनाका बेला लगाएका कपडा बरामद गरेको छ। गिरोहमा संलग्न अन्य व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।




















प्रतिक्रिया