काठमाडौँ । काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको खुलेको छ। प्रहरी सहायक हवल्दार डम्बरबहादुर श्रेष्ठमाथि खुकुरी प्रहार गर्न खोजेपछि उनलाई गोली प्रहार गर्नुपरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।
काठमाडौँ प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै माझीलाई नियन्त्रणमा लिन सुरुमा दुई राउन्ड हवाई फायर गरिएको जनाएको छ। त्यसपछि पनि उनी नियन्त्रणमा नआएपछि घुँडामुनि एक राउन्ड गोली प्रहार गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताए। गोली लागेर माझीको दायाँ खुट्टाको घुँडामुनि चोट लागेको छ।
प्रहरीले आयनको समूहमा संलग्न रहेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका घर भई भक्तपुरको ठिमी नगरपालिका–४ बस्ने राकेश थिङ र मनोजकुमार मोक्तानलाई समेत पक्राउ गरेको छ। प्रहरीका अनुसार मोटरसाइकलमा सवार भएर पैदलयात्रुको सुनको सिक्री लुट्ने तथा विभिन्न स्थानमा डाँकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
लुटपाटका क्रममा मोक्तानले मोटरसाइकल चलाउने र थिङ पछाडि बसेर सिक्री लुट्ने गरेको तथा उनीहरूलाई आयनले नेतृत्व गर्ने गरेको प्रहरीको भनाइ छ। एसएसपी घिमिरेका अनुसार समूहले हालसम्म १५ वटा मोटरसाइकल चोरी गरेको समेत खुलेको छ।
प्रहरी अनुसन्धानका क्रममा आयन समूहको करिब नौ महिनाअघि पक्राउ परेको सिक्री तथा डलर लुट्ने समूहसँग समेत सम्पर्क रहेको देखिएको छ। पैदलयात्रीलाई बाटो सोध्ने बहाना बनाएर सिक्री लुट्ने शैलीमा दुवै समूहबीच समानता देखिएको प्रहरीले जनाएको छ।
आयन समूहले काठमाडौँको बौद्ध र स्वयम्भू क्षेत्रमा लुटपाटका घटना गराउँदै आएको प्रहरीको भनाइ छ। आयन २०७७ सालमा डाँकाचोरी मुद्दामा पक्राउ परी जेल बसेर छुटेका थिए। उनीविरुद्ध २०७९ सालमा भक्तपुरमा दुईवटा मुद्दासहित विभिन्न प्रहरी युनिटमा २७ वटा कसुर दर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार खरिद गरी ठूलो डकैती गर्ने योजनासमेत आयन समूहले बनाएको एसएसपी घिमिरेले बताए। उनका अनुसार समूह पक्राउ परेपछि उक्त योजना विफल भएको छ।
असोज १४ गते बौद्ध गेटमा एक व्यक्तिबाट दुई लाख रुपैयाँ लुटिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँको सादा पोशाकको टोलीले लुटेराहरूको प्रोफाइलिङ गर्दै अनुसन्धान अघि बढाएको थियो। पछिल्लो अनुसन्धानमा उनीहरूले बीवाईडी गाडीमा रहेका एक व्यक्तिको सुनको सिक्रीसमेत लुटेर भागेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले समूहबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकललगायतका सामग्री बरामद गरेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी राखेको जनाएको छ।




















प्रतिक्रिया