मुख्य न्यायाधिवक्ता जोशीले छाडे पद, प्रदेश प्रमुखले गरे राजीनामा स्वीकृत


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीले दिएको राजीनामा स्वीकृत भएको छ।

जोशीले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। प्रदेश प्रमुख नजिर मियाँले उनको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले गत साउन २८ गते जोशीलाई सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।

धनगढी उपमहानगरपालिका–२ निवासी जोशी यसअघि पनि मुख्यमन्त्री शाह पहिलोपटक मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए। त्यसबेला उनले करिब आठ महिना मुख्य न्यायाधिवक्ताका रूपमा काम गरेका थिए।

मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत भएसँगै उक्त पद रिक्त भएको छ।