माकलबारीमा वृद्ध महिलालाई निशाना बनाउँदै तिलहरी लुटपाट


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले लुटिएको तिलहरीसहित आरोपितलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई काठमाडौँको माकलबारीमा बस्दै आएका २९ वर्षीय सुनिल सुनार रहेका छन् ।

प्रहरीका अनुसार असोज २१ गते दिउँसो करिब ३ः२४ बजे माकलबारीस्थित आफ्नै घरअगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीबाट सुनारले सुनको तिलहरी लुटेर फरार भएका थिए । लुटिएको तिलहरी करिब चार आना तौलको र ७५ हजार रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आरोपितको खोजी तीव्र पारेको थियो । खोजतलासका क्रममा प्रहरीले असोज २२ गते अपराह्न करिब ४ बजे सुनारलाई लुटिएको सुनको तिलहरीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।