काठमाडौं – रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र जाँच समितिले शुक्रबार फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। यससँगै सबै उमेर समूहका दर्शकले चलचित्र हेर्न पाउने भएका छन्।
दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ। चलचित्रको ट्रेलर, टिजर र गीतले दर्शकमाझ उत्सुकता बढाएको छ।
चलचित्रमा दयाहाङ राई ‘काजी’को भूमिकामा छन् भने विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ। काजीको वैवाहिक जीवनमा आउने उतारचढाव र विपिन कार्कीको ग्याङसँगको टकरावले चलचित्रमा हास्य तथा एक्सनको मिश्रण प्रस्तुत गर्ने संकेत गरेको छ।
विशेषगरी मिरुना मगरको ‘शान्ति मिस’का रूपमा उपस्थिति र विपिन कार्कीको ग्याङस्टार लुक्सले दर्शकको ध्यान तानेको छ। चलचित्रको गीत ‘थाक खोला’ले पनि फिल्मप्रतिको उत्सुकता बढाएको निर्माण पक्षको दाबी छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ ‘एलजी’को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने चलचित्र विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।
‘कबड्डी’का अघिल्ला चार शृङ्खलाले सफलता हासिल गरेकाले पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च छ। अब काजी र उनको टोलीको नयाँ कथाले दर्शकलाई कत्तिको आकर्षित गर्छ भन्ने कुरा प्रदर्शनपछि थाहा हुनेछ।
















प्रतिक्रिया