दीपक-दीपाको ‘छ माया छपक्कै २’ले पायो युनिभर्सल सर्टिफिकेट, आजदेखि टिकट बुकिङ खुल्यो


काठमाडौं – दीपकराज गिरीको जीवनमा यस्तो ट्विस्ट आउँछ, जहाँ श्रीमती केकी अधिकारी र प्रेमिका सनिशा भट्टराई दुवै गर्भवती हुन्छन्। त्यसपछि दीपकराजले कसरी सम्हाल्लान् दुई गर्भवतीको जिम्मेवारी ? यही कौतूहल बोकेको नेपाली चलचित्र ‘छ माया छपक्कै २’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्रको टिकट आजदेखि बुकिङ खुला भएको छ।

अब दर्शकले खल्ती, इसेवा, सिनेमा हलका आधिकारिक वेबसाइट तथा अन्य अनलाइन माध्यमबाट टिकट काट्न सक्नेछन्। आफूलाई पायक पर्ने हल र सुविधाजनक समय छनोट गरी चलचित्र हेर्न सकिनेछ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्र भोलि असोज ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ। ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ।

चलचित्रमा दीपकराज गिरी बाइक राइडरको भूमिकामा छन् भने केकी अधिकारी उनकी श्रीमती बनेकी छन्। चिकित्सकले केकीको पात्रबाट सन्तान नहुने बताएपछि दीपकराजको पात्र सनिशा भट्टराईसँग नजिकिन्छ। तर, जब केकी र सनिशा दुवै गर्भवती हुन्छन्, त्यसपछि उनको जीवनमा सुरु हुन्छ नयाँ झमेला। दुई गर्भवतीलाई सम्हाल्न दीपकराजले के–के गर्नुपर्ला ? यसको जवाफ चलचित्रले दिनेछ।

चार मिनेट लामो ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, सन्तान र त्यसबाट उत्पन्न हुने जटिल परिस्थितिलाई हास्यरसमा प्रस्तुत गरिएको छ। ट्रेलरले कथाका महत्त्वपूर्ण घटनाक्रम देखाए पनि दर्शकलाई पेट मिचिमिची हँसाउने पञ्चलाइनको प्रभाव कस्तो रहन्छ भन्ने चासो पनि उत्तिकै छ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरी, रवीन्द्र झा, रमा थपलिया र मेक्सम गौडेललगायत कलाकारको अभिनय छ। केदार घिमिरे ‘माग्ने बुढा’ पनि चलचित्रमा देखिनेछन्।

चलचित्रका निर्माता रोहित अधिकारी हुन्। उनले यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’, ‘फर्की फर्की’ र ‘माइतीघर’जस्ता चलचित्र निर्माण गरिसकेका छन्। दीपकराज गिरी र दीपाश्री निरौलासँग रोहितको यो दोस्रो सहकार्य हो। चलचित्रको लेखन दीपकराज गिरीले गरेका छन् भने निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन्।

अब प्रश्न एउटै छ-दुई गर्भवतीको चक्करमा परेका दीपकराजले दर्शकलाई हँसाउन कति सफल होलान्? यसको फैसला हलमा दर्शकको प्रतिक्रियाले गर्नेछ। चलचित्रको टिकट खुलिसकेकाले दर्शकले आजैदेखि आफूलाई पायक पर्ने हल वा अनलाइन माध्यमबाट टिकट काट्न सक्नेछन्।