काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताएका छन्।
बडादसैँको अवसरमा शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आर्थिक समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले दसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन्। नेपाली समाजमा सदियौँदेखि विशेष महत्त्व राख्दै आएको दसैँलाई एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गर्दै उनले यसले सानालाई माया र ठूलालाई आदर गर्ने मौलिक परम्परालाई प्रतिबिम्बित गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको पीडा ताजै रहेका बेला दसैँ आएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी पनि उनले दिएका छन्।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता खराब प्रवृत्तिमाथि विजय प्राप्त गर्न सबैलाई प्रेरित गरेका छन्।
चाडपर्वका बेला पनि बाध्यतावश विदेशमा रहनुपर्ने नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले नागरिकको जीवनस्तर सुधार र आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सत्यको बाटोमा हिँड्न र सुशासन कायम गर्न माता दुर्गाभवानीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
उनले बडादसैँका अवसरमा सम्पूर्ण नेपालीको आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्।
















प्रतिक्रिया