काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको व्यावसायिक र आर्थिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले बताएका छन्।
लिग सुरु हुनुअघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले यसपटक प्रायोजनबाट मात्रै क्यानले करिब २० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए।
उनका अनुसार टिकट बिक्री तथा विभिन्न प्रायोजनसहित क्यानको तर्फबाट मात्रै एनपीएलमा ७० देखि ७५ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। प्रतियोगिता सञ्चालनका लागि क्यानले गर्ने खर्चको हाराहारीमै फ्रेन्चाइज टोलीका मालिकहरूले पनि खर्च गर्ने खड्काले बताए।
क्यानको ७० देखि ७५ करोड रुपैयाँ र फ्रेन्चाइज टोलीहरूको सोही हाराहारीको खर्च जोड्दा एनपीएलबाट समग्रमा करिब १५० करोड अर्थात् डेढ अर्ब रुपैयाँको आर्थिक कारोबार हुने क्यानको अनुमान छ।
करिब एक महिना सञ्चालन हुने प्रतियोगिताले क्रिकेटसँगै खेल पर्यटन, विज्ञापन, प्रायोजन तथा अन्य व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।
एनपीएलको बढ्दो व्यावसायिक आकर्षणले नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानी र प्रायोजकहरूको सहभागिता विस्तार गर्न सहयोग पुग्ने क्यानको विश्वास छ।

















प्रतिक्रिया