नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। खेल साँझ ५ बजे सुरु हुनेछ भने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने कार्यक्रम छ।

एनपीएललाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न काठमाडौँ जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा योजना लागू गरेको छ। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सुरक्षाका लागि १ हजार १२५ प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार रंगशालाभित्र र बाहिर प्रहरीले २४ प्रकारका जिम्मेवारी सम्हाल्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षाका लागि रिजर्भ टोली परिचालन, घेराबन्दी तथा खानतलासी, सीसीटीभी निगरानी, कुकुर परिचालन र खेलाडीको स्कर्टिङलगायतका व्यवस्था गरिएको छ। आवश्यकताअनुसार सुरक्षाकर्मीको संख्या थपघट गर्न सकिने उनले बताए।

प्रतियोगितामा सहभागी स्वदेशी तथा विदेशी खेलाडीलाई काठमाडौँ र ललितपुरका आठवटा होटलमा राखिएको छ। खेलाडीको आवतजावतलाई सुरक्षित बनाउन होटलदेखि क्रिकेट मैदानसम्म प्रहरी टोलीले स्कर्टिङ गर्नेछ। प्रहरी उपरीक्षक थापाका अनुसार खेलाडीको सुरक्षाका लागि सम्पर्क अधिकृतसहितको टोली खटाइएको छ।

काठमाडौँका पाँचवटा होटलमा खेलाडी बसेका छन्। तीमध्ये सोल्टी र म्यारियट होटल पनि छन्। त्यस्तै, ललितपुरका तीनवटा होटलमा खेलाडीलाई राखिएको क्यानका अधिकारीहरूले बताएका छन्। ललितपुरमा खेलाडी बसेका होटलमध्ये ट्युलिप पनि रहेको छ।

एनपीएलमा सहभागी हुन विदेशबाट चर्चित तथा अनुभवी क्रिकेट खेलाडीहरू नेपाल आएका छन्। उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतियोगिताको समग्र सुरक्षा व्यवस्थाको अनुगमन काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले गर्नेछन्। क्रिकेट मैदानमा कमान्ड पोस्ट स्थापना गरिएको छ भने रंगशाला क्षेत्रको फिल्ड कमान्ड प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकीले सम्हाल्नेछन्।

सशस्त्र प्रहरी बलका चार प्लाटुन सुरक्षाकर्मी पनि क्रिकेट मैदान क्षेत्रमा परिचालन गरिएका छन्। रंगशालाको मुख्य प्रवेशद्वारअगाडिको खुला क्षेत्र, टिकट काउन्टर, दोस्रो गेट र स्क्रिननजिक छुट्टाछुट्टै टोली खटाइएको छ। ती चार स्थानमा ३५ जनाका दरले सशस्त्र प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना स्वीकृत गरिएको छ।

यसका अतिरिक्त क्यानले रंगशालाको सुरक्षाका लागि निजी सुरक्षा कम्पनीसमेत परिचालन गर्ने भएको छ। क्यानका एक अधिकारीका अनुसार के–४ सेक्युरिटीमार्फत २५० जनासम्म सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजी सुरक्षा टोलीको समन्वयमा प्रतियोगिताभर सुरक्षा व्यवस्था सञ्चालन गरिनेछ। खेलाडी, दर्शक तथा आयोजकको सुरक्षालाई प्राथमिकतामा राख्दै रंगशालाभित्र र बाहिर निगरानी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरिएको छ।