काठमाडौँ। काठमाडौँको चोभारडाँडास्थित ऐतिहासिक आदिनाथ मन्दिरमा आजदेखि एकमहिने मेला सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ। मेलामा काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजन सहभागी हुने गर्छन्।
लिच्छवीकालीन मानिने आदिनाथ मन्दिर ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको सम्पदा हो। मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्किने मूर्ति रहेकाले यसलाई अर्धनारीश्वर र आदिनाथ दुवै नामले चिनिन्छ। हिन्दू र बौद्ध धर्मावलम्बीले साझा आस्थाको केन्द्रका रूपमा यस मन्दिरमा पूजाआजा गर्दै आएका छन्।
मन्दिरमा पूजा गरेमा भय, रोग र विभिन्न बाधाबाट मुक्ति मिल्ने तथा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। यसैगरी, मेलामा सहभागी भएमा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि प्रचलित छ।
बौद्ध धर्मावलम्बीले आदिनाथलाई करुणाका प्रतीक लोकेश्वरका रूपमा पूजा गर्ने परम्परा छ। लामो आयु, अकाल मृत्युबाट मुक्ति र धनसम्पत्ति प्राप्तिको कामनासहित यहाँ पूजाअर्चना गरिन्छ। हिन्दू धर्मावलम्बीले भने आदिनाथलाई शिवशक्तिका रूपमा आराधना गर्ने चलन छ।
धार्मिक महत्त्वसँगै प्राकृतिक सौन्दर्यका कारण पनि चोभारस्थित आदिनाथ मन्दिर आकर्षणको केन्द्र बनेको छ। मन्दिर परिसरबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यस क्षेत्रको आसपासमा मञ्जुश्री पार्क, जलविनायक मन्दिर र टौदहजस्ता धार्मिक तथा पर्यटकीय महत्त्वका स्थल रहेका छन्।
काठमाडौँ उपत्यका प्राचीन समयमा पानीले भरिएको दह रहेको र मञ्जुश्रीले खड्ग प्रहार गरी पानी निकास गराएको जनविश्वाससँग जोडिएको चोभार गल्छी पनि यही क्षेत्रमा पर्छ।
एक महिनासम्म चल्ने मेलाले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै चोभार क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया