मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याइएका चाँदीका विभिन्न प्रकारका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बरामद गरेका गरगहना र सिक्काको बजार मूल्य करिब ४० लाख ६९ हजार ६६१ रुपैयाँ रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारबाट उक्त सामग्री बरामद गरिएको हो ।
कारको डिक्कीभित्र फल्स बटम बनाएर लुकाइछिपाइ ल्याइएको अवस्थामा चाँदीका गरगहना तथा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएका गरगहना र सिक्कासहित चाँदीको कुल तौल १४ किलो १८० ग्राम रहेको छ । उक्त सामग्री ओसारपसारमा संलग्न रहेको आरोपमा भारतको मोतिहारीका रमेशकुमार साह सोनार, चन्दादेवी सोनार, अजित साह सोनार र नन्दनीकुमारी साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जना र बरामद गरिएका सामग्रीलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

















प्रतिक्रिया