एनपीएलको उद्घाटन खेलमै सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुवात


काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

डार्सीले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई सहज जितको आधार तयार गरेका थिए। आसिफले ३२ रन बनाए। निरोशन डिक्वेला ७ रनमा बोल्ड भए भने शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे।

सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमै समेटिएको थियो। सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। किशोरले ४ तथा शेरले ३ विकेट लिए। कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाल्कविकले समान १ विकेट हात पारे।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १७ रनमा अविजित रहे। साइफ जैबले १३, विनोद भण्डारीले ९, इशान पाण्डेले ७ र ब्रान्डन म्याकमुलेनले २ रन जोडे। शेर्फन रदरफोर्डले १ रन बनाए। स्कट कुगेलेइन र हेमन्त धामी खाता नखोली आउट भए।

एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग

यस संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिएको छ। खेलको दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका बलर शेर मल्लले एलबीडब्लुका लागि अपिल गरेका थिए। अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिए पनि उक्त निर्णय उल्ट्याउन सकेनन्।

साविक विजेता लुम्बिनीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ।