काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वअध्यक्ष कमल थापाले पार्टी आफ्नो ३५ वर्ष लामो इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेका छन्। वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने समयमा राप्रपा संगठनात्मक रूपमा कमजोर बन्दै गएको बताएका हुन्।
थापाले जनतामा राजसंस्था, हिन्दू राष्ट्र, सुशासन, भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणप्रति अपेक्षा बढिरहेको दाबी गर्दै ती मुद्दा बोकेको राप्रपा भने कमजोर अवस्थामा पुग्नु विडम्बनापूर्ण भएको बताए।
‘जनताले राजा खोजिरहेका छन्, हिन्दू राष्ट्र चाहिरहेका छन्। भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समृद्धि र बेरोजगारीको अन्त्य खोजिरहेका छन्। तर यी विचार बोकेको एउटै मात्र दल राष्ट्रिय प्रजातन्त्र पार्टी इतिहासमै सबैभन्दा कमजोर भएको छ,’ उनले भने।
पार्टी कमजोर हुनुमा चुनावमा हारजित मात्र कारण नभई संगठनात्मक अवस्था र नेता–कार्यकर्ताको घट्दो उत्साहसमेत जिम्मेवार रहेको थापाको भनाइ छ। विभिन्न तहका कार्यसमितिमा बस्नसमेत नेता–कार्यकर्ताको रुचि घटेको उनले बताए।
उनले काठमाडौं जिल्लाको उदाहरण दिँदै विगतमा कांग्रेस, एमाले र माओवादीभन्दा बढी मत प्राप्त गरेको जिल्लामा समेत कार्यसमिति निर्वाचन निर्विरोध गर्न सकिने अवस्थामा पर्याप्त सदस्य नपाइनु पार्टीको कमजोर संगठनको संकेत भएको टिप्पणी गरे।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै थापाले पार्टीको अवस्था तत्काल सुधार्न नसके उम्मेदवार पाउनसमेत कठिन हुने चेतावनी दिए। ‘पार्टी यति कमजोर अवस्थामा यसभन्दा अगाडि कहिल्यै थिएन। स्थानीय चुनावमा उम्मेदवार पाउन नसक्ने अवस्थामा हामी पुगेका छौँ,’ उनले भने।
थापाले पार्टी नेतृत्वले आफ्नो कार्यशैली र प्रवृत्तिमा सुधार गर्नुपर्नेमा जोड दिए। ‘म नै सर्वेसर्वा हुँ, म नै पार्टी हुँ, मेरो विरोध गर्नेलाई पार्टीमा स्थान छैन’ भन्ने सोच कायम रहेसम्म राप्रपा अघि बढ्न नसक्ने उनको टिप्पणी थियो।
यद्यपि उनले नेता–कार्यकर्तालाई निराश नभई पार्टी पुनर्जागरणको अभियानमा जुट्न आग्रह गरे। कार्यकर्ताको मनोबल उच्च राख्न सके पार्टीलाई फेरि बलियो बनाउन सकिने उनको विश्वास छ।
थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै राप्रपाले पनि आफ्ना एजेन्डा जनतामाझ स्पष्ट रूपमा पुर्याउन सके एकै निर्वाचनबाट ठूलो सफलता हासिल गर्न सक्ने दाबी गरे। आफूहरूको पुस्ताले नसके पनि नयाँ पुस्ताले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरे।

















प्रतिक्रिया