काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ। गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेको अवस्थामा देउवा समूहले आफ्नो छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको हो।
देउवा समूहका नेता गुरु बरालका अनुसार बाढीपहिरोका कारण केही स्थानमा अधिवेशनको कार्यतालिका प्रभावित भए पनि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको छ।
बरालले अधिकांश जिल्लामा तल्लो तहका अधिवेशन सम्पन्न भइसकेको र अहिले जिल्ला अधिवेशनको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। केही जिल्लामा नयाँ नेतृत्वसमेत चयन भइसकेको उनले बताए।
उनका अनुसार अधिकांश जिल्लाले १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन्। अधिवेशनमा नेता तथा कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको उनको दाबी छ।
देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी छ।
‘तल्लो तहमा केही कार्यतालिका प्रभावित भए पनि केन्द्रीय महाधिवेशनको मिति तलमाथि गर्ने छुट हामीलाई छैन। त्यसैले कार्यतालिकाअनुसार नै तीव्र रूपमा तयारी गरिरहेका छौँ,’ बरालले भने।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट संस्थापन पक्षले एकलौटी रूपमा महाधिवेशन गरेको भन्दै देउवा समूहले अब आफ्नो महाधिवेशनको तयारीबाट पछि नहट्ने संकेत दिएको छ। बरालले सहमति हुन नसकेको अवस्थामा आफ्नो खेमाको महाधिवेशन अघि बढाइने स्पष्ट पारे।
देउवा समूहका अनुसार देशभरका ६ हजार १०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ। त्यस्तै, ४९७ पालिका र ११६ क्षेत्रीय अधिवेशन पनि टुङ्गिएको समूहको दाबी छ। अहिले विभिन्न जिल्लामा जिल्ला अधिवेशन भइरहेका छन्। एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बरालले बताए।
यसैबीच, देउवा समूहले संस्थापन पक्षमा पराजित भएका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने रणनीतिसमेत बनाएको छ। त्यसका लागि विभिन्न तहका नेतासँग छलफल र समन्वय अघि बढाइएको बताइएको छ।
गगन थापा नेतृत्वको कार्यसमिति चयन भइसकेपछि पनि देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्ने संकेत देखिएको छ।

















प्रतिक्रिया