प्रधानसेनापति बन्ने दौडमा थापा, रथीमा बढुवा सिफारिस


काठमाडौँ । नेपाली सेनाको रथी पदमा बढुवाका लागि उपरथी अनुपजंग थापाको नाम सिफारिस भएको छ। रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डको बैठकले थापाको नाम रथी पदका लागि सिफारिस गरेको हो।

रथी गणेश श्रेष्ठले आगामी मंसिर ७ गते अनिवार्य अवकाश पाएपछि रिक्त हुने पदमा थापालाई बढुवाका लागि सिफारिस गरिएको हो। थापाको बढुवा भएमा उनी नेपाली सेनाको भावी नेतृत्वको रोलक्रममा अगाडि रहनेछन्।

हालका प्रधानसेनापति अशोक सिग्देलपछि थापा नेपाली सेनाको ४३औँ प्रधानसेनापति बन्ने रोलक्रममा रहनेछन्। यससँगै उनको बढुवा र भावी सैनिक नेतृत्वलाई चासोका साथ हेरिएको छ।

बढुवा सिफारिसप्रति चित्त नबुझेमा उजुरी गर्न सात दिनको समय दिँदै बोर्डले सोमबार सूचना जारी गरेको छ। निर्धारित समयभित्र कुनै उजुरी परेमा त्यसउपर आवश्यक प्रक्रिया अघि बढाइनेछ।

यसैबीच, बढुवा सिफारिस बोर्डका अध्यक्षसमेत रहेका रथी प्रदीपजंग केसीले पनि आगामी मंसिर १५ गते अवकाश पाउँदैछन्।

थापाको बढुवा प्रक्रिया पूरा भएसँगै नेपाली सेनाको उच्च नेतृत्वमा उनको भूमिका थप महत्त्वपूर्ण हुने देखिएको छ।