नेपाल–भारत सीमा सुरक्षामा आधुनिक प्रविधि प्रयोग गर्ने सहमति, ड्रोन र सीसीटीभीबाट निगरानी बढाइने


काठमाडौँ । नेपाल र भारतले खुला सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग बढाउने सहमति गरेका छन्।

काठमाडौँमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकमा सीमा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने, सुरक्षा निगरानी सुदृढ गर्ने तथा सीमापार अपराध नियन्त्रणका लागि आपसी सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा सम्पन्न बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि रणनीतिक, अपरेसनल तथा कार्यक्षेत्र तहमा समन्वय बढाउने निर्णय गरेको छ।

बैठकमा दुवै देशले आवश्यक सूचना शीघ्र आदानप्रदान गर्ने र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त प्रयासलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

सीमा क्षेत्रमा सीसीटीभी र ड्रोन प्रयोग गरिने

सीमा व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान गर्ने, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने विषयमा सहमति भएको छ। साथै दुवै देशले आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाएर सीमा क्षेत्रको निगरानी गर्ने विषयमा पनि छलफल गरेका छन्।

तस्करी र मानव बेचबिखन नियन्त्रणमा सहकार्य

नेपाल र भारतबीच सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि सूचना आदानप्रदानलाई निरन्तरता दिने निर्णय भएको छ।

खुला सीमाको दुरुपयोग गर्दै तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरणलाई कडा बनाउने, दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने र शङ्कास्पद गतिविधिबारे तत्काल जानकारी आदानप्रदान गर्ने सहमति भएको छ।

दशगजा अतिक्रमण हटाउन संयुक्त पहल

बैठकले दशगजा क्षेत्रमा हुने अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउन संयुक्त प्रयास जारी राख्ने निर्णय गरेको छ। सीमा स्तम्भहरूको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि सम्बन्धित संयन्त्रमार्फत समन्वय बढाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

त्यसैगरी सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाबाट उत्पन्न सुरक्षा चुनौती तथा सामाजिक सद्भावमा पर्ने असरलाई सम्बोधन गर्न संस्थागत सहकार्य सुदृढ बनाउने निर्णय भएको छ।

विपद् व्यवस्थापनमा संयुक्त अभ्यास गरिने

प्राकृतिक विपद्का समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जल उद्धार अभ्यास सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकले सीमा नाकामा वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउन सहायता कक्ष विस्तार गर्ने तथा खेलकुद, अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमतिसमेत गरेको छ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकारीसहित गृह तथा परराष्ट्र मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। भारतका तर्फबाट एसएसबीका उच्च अधिकारी, भारतीय दूतावास तथा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना हुने जनाइएको छ।